काठमाडौं। बाँके जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गाको अवैध उत्खनन र ओसारपसार निरन्तर जारी छ। राप्तीसोनारी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिले अनुगमन गर्दा धेरै ठूलो परिमाणमा उत्खनन गरिएको अवैध नदीजन्य पदार्थ फेला परेपछि प्रहरी प्रशासनले सो रोक्न केही कडाइ गरे पनि अवैध उत्खनन र ओसारपसार निरन्तर भएको हो।
राप्तीसोनारीको राप्ती नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन र ओसारपसारमा संलग्न चारवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले अवैध उत्खनन र ओसारपसार निरन्तर जारी रहेको पुष्टि भएको हो। राप्ती नदीबाट ढुङ्गा लिएर आउँदै गरेका दुईवटा ट्याक्टर र अवैध रूपमा बालुवा तस्करी गर्न जाँदै गरेका थप दुइटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। इप्रका कोहलपुरका अनुसार राप्ती नदीमा अवैध रूपमा बालुवा उत्खनन गर्न जाँदै गरेका भे. १ त ८८६३ र भे. १ त ७१४० नम्बरका ट्याक्टरलाई प्रहरी चौकी कचनापुर र सशस्त्र प्रहरी बेस क्याम्प जिरोको टोलीले नियन्त्रणमा लिएको थियो।
दुइटा ट्याक्टरलाई सिक्टा सिँचाइको नहर हुँदै गएको बाटोबाट राप्तीसोनारी–२ स्थित मुगुवा खोलामा प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी कचनापुरले जनाएको छ।
प्रहरी चौकी कचनापुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको टोलीले वडा नम्बर २ कै माथेवासमा जम्मा गरेर राखिएको ढुङ्गा लिएर आउँदै गरेको अवस्थामा भे. १ त ३३१६ र भे. १ त ७३६२ नम्बरका दुइटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो।