फाइल तस्बिर
लमजुङ। तीन दिनदेखि अवरुद्ध डुम्रे–बेंसीशहर–चामे सडक खुलेको छ। जिल्लाको बेंसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडाको सडकमा पहिरो गएपछि गत शनिबार रातीदेखि बन्द सडक मंगलबार रातिदेखि खुलेको हो।
स्थानीय प्रशासन, स्थानीय तह, प्रहरीलगायतको समन्वयमा डुम्रे–बेंसीशहर–चामे सडक योजनाले तीनदिन लगाएर करिव ३ सय मिटरको डाइभर्सन निर्माण गरेसँगै यातायात सुचारु भएको छ । शनिबार राती गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
गत वर्ष पहिरो गएपछि पहिरोको माथिबाट सडकको डाइभर्सन बनाइएकोमा शनिबार रातीको भीषण बर्षासंगै आएको पहिरोले सडक पुरै बगाएको छ । गत वर्ष करिब एक सय मिटर सडक बगाएको थियो । सडकबाट करिव तीन सय मिटरमुनी मस्र्याङ्दी नदीसम्म पहिरो चलेको छ ।
अहिले उदिपुरको चिप्लेटी नजिकै मध्यमस्र्याङ्दीको बाँध जाने मुल गेटबाट बाँधस्थल हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको ब्यारेक प्रवेश गर्ने बाटो सञ्चालनमा ल्याइएको छ । नेपाली सेनाको ब्यारेक कटेपछि पहिरोको मुनीबाट करिव तीन सय मिटर सडक बनाएर उदिपुरबाट दोर्दी चितीतर्फ जाने रिट्ठेबगरको सडकसँग जोड्ने गरी सडक निर्माण गरिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाले जनाएको छ।
हाल कच्ची सडक निर्माण गरिएको र यसलाई मर्मत गर्दै लाने सडक योजना कार्यालयले जनाएको छ । कच्ची सडक भएकाले तत्कालको लागि सडकलाई एकतर्फी रुपमा सञ्चालन गरिने लमजुङ प्रहरीले जनाएको छ।