काठमाडौं। नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज लाइनको महशुल दर पुनरावलोकन गरिएको छ। नेपाल टेलिकमको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको हो।
टेलिकमले असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्टानेट दुवै लिज लाइनको नयाँ महशुल दर कायम गरेको छ। टेलिकमले ३६ प्रतिशतसम्म कम हुनेगरी नयाँ महशुल कायम गरेको हो।
इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले दुई हजार पाँच सय थियो भने हाल घटाएर एक हजार ६ सय बनाइएको छ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर दुई हजार तीन सयबाट घटाएर एक हजार ६ सय कायम गरेको टेलिकमले जनाएको छ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल दर क्रमशः रु. २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महशुल दर १,५०० कायम गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल दुई हजार सात सय रहेकामा अहिले दुई हजार चार सय र ११ देखि १०० एमबीपीएसको दुई हजार चार सय अब दुई हजार एक सय त्यसैगरी १०० एमबीपीएस भन्दा बढीको दुई हजार एक सय रहेकोमा अब १८ सय कायम गरेको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने प्रवक्ता अधिकारीले बताए।
