काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका मुसहर समुदायका चालिस घरपरिवारलाई खानेपानिको समस्या भएको छ। खानेपानीका लागि वर्षाको मौसममा समेत समस्या भएको हो।
चालीस घरपरिवार गाउँको बीचमा रहेको एउटा खानेपानीको धाराबाट दैनिक गुजारा टार्नुपर्ने अवस्था रहेको छ। ४० घरपरिवारका लागि एउटा मात्र धारो हुँदा कहिलेकाहीँ खानेपानीका लागि स्थानीय बासिन्दाबीच झगडासमेत हुने गरेको स्थानीयले बताए।
गाउँको बीचमा एउटा धारो छ, त्यो पनि नियमित आउँदैन। दिन बिराएर जस्तो आउँछ। आएको बेला पनि छोटो समय आउँछ। पानी आएको बेला कसले पहिले भाँडा भर्ने भनेर तँछाड मछाड नै हुने गुनासो स्थानीयको छ।
गाउँमा भएका इनारसमेत सुक्नाले खानेपानीको समस्या व्यहोर्दै आउनु परेको हो। घरबाट नजिकको खोलामा गएर पानी ल्याउन एक घण्टा जति समय लाग्छ। केही दिनअघि मात्र टाउकोमा बोेकेर ल्याएको पानी घर नजिक आएपछि ठेस लागेर पोखिएको र गाग्री कुचिएको स्थानीयले सुनाए।
मुसहर समुदाय सबैको घरमा जनता आवास कार्यक्रमअन्तर्गत सौचालयसमेत छ। पानीको अभावमा सौचालय सफा गर्न नपाएपछि स्थानीयवासी दिसा, पिसाब गर्न घर छेउको जङ्गलमा जाने गरेका छन्। पानीको अभावले सरसफाइ गर्न नसक्दा स्थानीयलाई बेलाबेलामा झाडापखालाको समस्या देखिने गरेको छ। ‘एक घर एक धारा’ भन्ने स्थानीय सरकारको नीति तथा कार्यक्रम भए पनि यहाँका उपभोक्ताले पहिलो स्थानीय सरकारको कार्यकालमा यो अनुभव गर्न नपाएको गुनासो गरेका छन्।