गोरखा। इन्टरनेट र फोन सेवा अवरुद्ध भएपछि धार्चे गाउँपालिकाको कार्यालय सारिएको छ। माछाखोलामा रहेको धार्चे गाउँपालिका कार्यालयमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएपछि खोर्लाबेँसीबाट काम सुरु गरिएको हो।
बिल भुक्तानीको चटारोका वेला इन्टरनेट र फोन सेवा अवरुद्ध भएपछि बिहीबारबाट कार्यालयको काम खोर्लाबेँसीबाट सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुलबहादुर आलेले बिल भर्पाई फर्स्योट तथा भुक्तानीको समयावधि सकिन लागेकाले पालिकाका केही कर्मचारीहरू खोर्लाबेँसी गएर पालिकाको काम सुरु गरेको जानकारी दिए।
खोर्लाबेँसीमा महालेखानियन्त्रक कार्यालयले लागू गरेको इएफटी (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) र सूत्र सफ्टवेयर काम गरिरहेको छ ।
सेवाग्राहीलाई दोहोरो हिँड्न नपर्ने गरी फाइल खोर्लाबेँसी ल्याउने र माछाखोलामा पुर्याउने काम कर्मचारीले नै गर्दै आएका छन्।
आउँदो असार २४ गतेसम्म बिल भर्पाई फर्स्योट तथा भुक्तानी दिइसक्नुपर्ने कानुनी सीमा रहेको छ । सोहीअनुसार काम गरिरहेको प्रमुख अधिकृत आलेले जानकारी दिए ।
माछाखोलामा विद्युत् र इन्टरनेटको प्राविधिकलाई समेत खबर गरिसकेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।