काठमाडौं। बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।
सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।
सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ। विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो। नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो। सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।
पैसठ्ठी किलोमिटर दूरीको बेँसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ। बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ। गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो। मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए।