नवलपुर। नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी छ। म्याद सकिन एक महिना मात्र बाँकी हुँदा सडककाे काम भने हालसम्म १९ प्रतिशत मात्र पूरा भएकाे छ।
सडक विस्तारकाे काम ४२ महिनामा सक्नेगरी २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएकाे थियाे । तर सम्झाैताकाे ४१ महिना बितिसक्दा पनि भाैतिक प्रगति भने करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
आगामी २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ। तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत ०७५ मा उक्त सडक विस्तार कार्यको शिलान्यास गरेका थिए ।
११४ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएको छ। नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्डका अलगअलग कार्यालय स्थापना गरे पनि काम भने दुवैतिर सुस्त देखिन्छ । चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ ।
बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले बताए। यता गैँडाकोट-बर्दघाट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको छ ।