बेनी । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । गएरातिदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । तर वर्षा नरोकिएकाले समस्या भएको उहाँले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् । अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।