काठमाडौं। दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने अँधेरी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। करिब ४७ लाख रुपियाँको लगानीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो।
संङ्घीय सरकारको ३९ लाख ६७ हजार ९८६, गाउँपालिकाको छ लाख छ हजार ८६८ र जनश्रमदान ९३ हजार ३६४ गरी कुल ४६ लाख ६८ हजार २१८ रुपियाँ लगानीमा यो पुल निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ।
उक्त पुल निर्माण भएपछि शैलुङ गाउँपालिका–१ र मेलुङ गाउँपालिका–७, साउतेका २८० घरधुरीका ५६० जना प्रत्यक्ष र रामेछाप जिल्लाका उपभोक्तासमेत लाभान्वित भएका छन्। सो पुल निर्माण नहुँदा आवतजावत गर्न निकै अप्ठ्यारो थियो। अब जोखिमपूर्ण यात्राबाट मुक्त हुनुका साथै यात्राको दूरी छोटिएको छ। पुल निर्माण भएपछि घण्टौँ लगाएर अन्यत्रबाट हिँड्नुपर्ने बाध्यता हटेको छ। बाटो छोटिँदा समय बचत पनि भएको छ। काममा छिटोछरितोपन पनि आएको छ।
उक्त निर्माणका लागि ठेक्कामार्फत सामान ढुवानी गरिएको थियो भने अन्य निर्माणको काम उपभोक्ता निर्माण समितिले गरेको थियो। रामेछाप र दोलखाको शैलुङ तथा मेलुङ गाउँपालिका जोड्ने यो पुलको लम्बाइ ११५ मिटर र चौडाइ १०६ सेमी रहेको छ।