काठमाडौं। बहुप्रतीक्षित ६६५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी भएको छ। खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो।
नेपाल विद्युत प्राधिकरण, दूधकोसी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबीच धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साढे तीन किलोमिटर कन्स्ट्रक्सन एक्सेस रोडको ट्रयाक खोल्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताइन्।
निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब नौ महिनामा एक्सेस रोड बनाउने समझदारी पत्रमा उल्लेख छ। लामीडाँडाको रँभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३ किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो। हाल यस जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ। आयोजना निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो।
उक्त आयोजना निर्माणलाई सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेको छ। त्यसका लागि सरकारले आगामी आवमा ९४ करोड बजेट विनियोजन गरेको छ। कारोबारबाट