काठमाडौं। गत असार १६ गते देखि सडकमा पहिरो खसेका कारण अबरुद्ध भएको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडक खण्डको कनौटामा सडक माथिबाट ठुलो पहिरो खसेकाकारण सडक अवरुद्ध हुँदा स्थानीयले समस्यामा परेका थिए।
नेपाली सेनाले बम व्लाष्ट गरेर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डमा सामान्य पानी परेपनि पहिरो खस्ने समस्याले विगतदेखि नै आफुहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ।
लामो समयको कसरत पछि अहिले पहिरो पन्छाउने कार्य सकिएको भन्दै दीर्घकालिन रुपमा समस्याको समाधान नखोजेसम्म समस्या जस्ताको तस्तै रहने गाउँपालिकाले दाबी गरेको छ।
केही समय अगाडि देखि करिडोरको पहिरो पन्छाउने कार्य करिडोरको कार्यालयले गर्ने ब्यबस्था मिलाएको थियो। यस अघि कार्यालयमा मर्मत सम्भारका लागि बजेटको ब्यबस्था नभएकाले समस्या भएको र हाल बजेटको ब्यबस्था भएकोले समस्याको समाधान भएको बताइएको छ।
पहिरोका कारण पुर्तिघाट देखी बुटवल सम्म छुटने सवारी साधनहरु र यात्रुहरु अलपत्र पर्ने गरेका छन् भने कार्यालयको कामले गाउँपालिका सम्म जान पनि समस्या पर्ने गरेको यात्रुहरुले बताउँदै आएका छन्।