काठमाडौं। काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरु बाटोमै रोकिएको छ। स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै फोहोरको गाडी रोकिदिएका हुन् ।
राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।
हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएका छन्।
हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी गरिरहेका छन्।
राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ । स्थानीय पीडितको नाममा फोहोरमा राजनीति गर्नेहरुसँग आफूहरुको कुनै सम्बन्ध नरहेको स्थानीयले बताए । उनले राजनीति गर्नेहरुलाई ल्याण्डफिल साइटमा प्रवेश निषेध गरिएको पनि बताएका छन् ।