काठमाडौं। बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरुलाई स्थानीयले आज पनि अवरोध गरेका छन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएपनि स्थानीयले आज बिहानैदेखि अवरोध गरेका हुन्।
स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेका छन्। पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको एक स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीले फोहोर विसर्जनमा अवरोध गरेका हुन्।
बुधबार भएको ४ बुँदे सहमति पत्रमा सहमतिमा ७ दिनभित्रमा सबै टिपरहरुमा लिचेट नचुहिने व्यवस्था गर्ने, धुलो नियन्त्रण र दुर्गन्ध हटाउन औषधि छर्ने कामलाई प्रभावकारी बनाउने, प्रत्येक ३ दिनभित्र बञ्चरेडाँडा डम्पिङ साइटमा टेपिङ गर्ने काम गर्ने र आसन्न निर्वाचनमा अन्तर जिल्ला अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि समन्वय गर्ने भनिएको छ ।
सहमति पत्रमा पक्राउ परेकाहरुलाई छुटाउने विषय उल्लेख नभएपनि मौखिक रुपमा उनीहरुलाई छुटाउने प्रशासनले आश्वासन दिएपनि नुछटेपछि स्थानीय बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।