कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा केन्द्र निर्माण हुन लागेको हो ।
केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रूख छपान र कटान गरिने भएको छ । सबडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे प्रजातिका ८ सय २५ वटा रूख कटानका लागि स्वीकृति प्राप्त भएको छ ।
वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकारका लागि स्वीकृति प्रदान गरिसकेको छ ।
सामुदायिक वनको पाँच हेक्टर जमिनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर अमित यादवले बताए । उनका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो । ‘बीस महिनाभित्र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ’, इञ्जिनीयर यादवले भने, ‘निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ । केन्द्रसम्म पुग्ने अढाइ किलोमिटर सडकसमेत निर्माण हुन्छ।’