काठमाडौं। काठमाडौं महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने भएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
उनले भनिन्, ‘स्थानीयहरुले अष्टमीदेखि एकादशीसम्मका ४ दिन ल्याण्डफिल साइट बन्द गर्न अनुरोध गरेका छन् । यसैअनुसार आज हामीले सहरको फोहोर संकलन गरेका छौँ । तर, साइटमा पठाएका छैनौँ । दशैँमा कर्मचारीहरुलाई पनि आलोपालो खटाउनु पर्ने हुन्छ । त्यसैले निश्चित जनशक्ति परिचालन गरेर सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्छौँ । सफाईकर्मीलाई पर्व मनाउने अवसर उपलब्ध गराउन महानगरबासीको पनि योगदान रहन्छ । यसका लागि हामी अनुरोध गर्न चाहन्छौँ, कम फोहोर उत्पादन गरिदिनोस्, उत्पादित फोहोरलाई वर्गीकरण गरेर राख्नोस्, सफाईकर्मी नआउञ्जेल घरबाहिर फोहोर ननिकाल्नोस् ।’
विभागले दशैँका लागि सडक, मठमन्दिर, चोकलगायत सार्वजनिक स्थलहरुको विशेष सरसफाइ गरिरहेको छ । सरसफाईका लागि आज पनि कर्मचारीहरु बढार्ने, झार उखेल्ने तथा गोडमेल गर्ने, पानी तथा चुन छर्किने काम भइरहेको छ । वडाहरुको ८ वटा समूहमा विभाजन गरेर त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनी तथा संघ संस्थालाई सहभागी गराएर सरसफाई चलाइएको हो ।