पर्वत। दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले डम्पिङसाइट बनाउने भएको छ। गाउँपालिकाले १० करोड लगानीमा डम्पिङसाइट बनाउने भएको हो।
गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो। पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर व्यवस्थापनमा चुनौती बनिरहेका बेला वडा नं ५ मा स्थानीयवासीले निःशुल्क प्रदान गरेको जग्गामा पूर्वाधार निर्माण गरिने भएको हो।
गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापनको लागि करिब रु १० करोड लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको बताइएको छ।
वडा नं ५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै सुरु गर्ने पैयूँ गाउँपालिकाले जनाएको छ। फोहरमैला परियोजना गाउँपालिकाको गौरवको योजना रहेको र फोहरलाई मोहोरमा बदल्ने गरी कामअघि बढेको हो।
यो परियोजना सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहर वर्गीकरण गरी यसलाई व्यवस्थित बनाइने भएको छ।