लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस पुल निर्माण गरेको छ। डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ राक्से खोलामा फलामको ट्रस पुल निर्माण गरेको हो।
यसअघि कज वे मात्र रहेको उक्त खोलामा पैदलयात्री र दुईपांग्रे सवारीसाधन आवतजावत गर्नका निम्ति निकै समस्या भएको थियो। श्रीजङ गणका गणपति जयराम थापाका अनुसार स्थानीयले अस्थायी व्यवस्थापनका लागी भए पनि पुल निर्माण गर्न अनुरोध गरेपछि ६० हजार बराबरको लगानीमा पुल निर्माण गरिएको हो।
सेनाले ब्यारेकभित्र रहेका फलामका सामग्री र केही सामग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस पुल निर्माण गरेको गणपति थापाको भनाइ छ। पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुईपांग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ। पुलको निर्माण सँगै स्थानीयपनि खुसी भएका छन्।