काठमाडौं। कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको रिसाइक्लर्सबीच सम्झौता भएको छ। नबिल बैंकमा रहेका काम नलाग्ने कागजपत्रलाई व्यवस्थापन गर्नका लागि बैंक र डोकोबीच सम्झौता भएको हो।
सम्झौतामा काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि डोकोले सहकार्य गर्ने बैंकले जनाएको छ ।
बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राई पुनः प्रयोग योग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरण मैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रुपमा प्रयोग गरि रुख बचाऊ अभियानमा समर्थन जनाउनेछ । त्यसैगरी व्यवहार परिवर्तनको लागि बैंकका कर्मचारीहरू तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ ।
सम्झौता अनुसार डोकोले बैंकको हप्ताभित्रै गएर काम नलाग्ने कागजातहरू श्रेडिङ मेशिनको सहायताले नष्ट गर्नेछ । यस सम्झौताले बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई टेवा पुग्ने बैंंकले जनाएको छ ।