बझाङ। जयपृथ्वी नगरपालिकाले निर्माण गर्न लागेको डम्पिङ साइटमा छविस पाथिभेरा गाउँपालिकाले आपत्ति जनाएको छ । जयपृथ्वी नगरपालिकाले निर्माण गर्ने डम्पिङ साइटको असर आफ्ना नागरिकमा पर्ने भन्दै छविस पाथिभेरा गाउँपालिका–२ ले आपत्ति जनाएको हो।
जयपृथ्वी नगरपालिका वडा नं. ७ को बोरेबगर भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदा त्यसको प्रत्यक्ष असर छविस पाथिभेरा गाउँपालिका वडा नं. २ का नागरिकमा पर्ने भन्दै छविस पाथिभेरा २ ले आफूसँग सल्लाह नगरी डम्पिङ साइट निर्माण नगर्न नगरपालिकालाई आग्रह गरेको छ ।
विज्ञप्ति निकाल्दै छविस पाथिभेराले भनेको छ, ‘जयपृथ्वी नगरपालिकाले जयपृथ्वी नगरपालिका ७ र छविस पाथिभेरा गाउँपालिका २ को सिमानामा पर्ने बोरेवगरमा जयपृथ्वी नगरपालिकाभरिको फोहोर व्यवस्थापन गर्नका लागि डम्पिङ साइट निर्माण गर्ने निर्णयप्रति यस वडाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘त्यसको प्रत्येक्ष असर छविसपाथिभेरा गाउँपालिका वडा नं. २ का स्थानीयवासीलाई पर्ने भएकाले यसको दीर्घकालीन उपाय नखोजी डम्पिङ साइट निर्माण गर्न नहुने र आगामी दिनमा उक्त कार्य गर्दा छविस पाथिभेरा गाउँपालिका २ सँग सहकार्य नगरी उक्त कार्य नगर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
