काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेटा सेन्टरको विद्युत लाइन काटेपछि पोखरा र वरिपरिका क्षेत्रको इन्टरनेट सेवा ठप्प भएको छ । विवादित पोल भाडाको विषयलाई लिएर प्राधिकरणले एकपछि अर्को गर्दै इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइन काट्न थालेको हो ।
बुधबार दिउँसो साढे १२ बजे नै लाइन काटिएको भए पनि जेनेरेटरको भारमा सेवा अवरुद्ध हुन नदिने प्रयास गरिएको इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए । “लामो समय जेनेरेटर चलाउँदा त्यसले लोड धान्न नसकेपछि अहिले इन्टरनेटको पूरै सिस्टम डाउन भएको छ,” उनले भने, “जसले गर्दा पोखरा क्षेत्रमा इन्टरनेट अवरुद्ध भएको छ।”
यसबाट सुबिसु, क्लासिक टेक, भायनेट, पोखरा इन्टरनेट, ब्रोडलिङ्क र केही स्थानमा वर्ल्डलिङ्कको समेत इन्टरनेट सेवा अवरुद्ध भएको छ ।