काठमाडौं। स्याङ्जाको सभ्यताको रूपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रूपमा सरसफाइ अभियान सुरु गरिएको छ । आँधीखोलामा फोहोर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य बढेसँगै वालिङका स्थानीयले नदी संरक्षणका लागि सक्रियता स्वरुप अभियान सुरु गरेका हुन् ।
नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रूपमा आँधीखोलाको सरसफाइ गर्न सुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले जानकारी दिए । नदी सफा राख्न अभियान निरन्तर जारी रहने उनले बताए । मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएको र फोहोर तथा ढल मिसाउने प्रवृत्ति बढेकोमा आलेले चिन्ता व्यक्त गरे ।
उनले सबैको सहकार्यमा ‘आँधीखोला संरक्षण अभियान’ सुरु गरिएको जानकारी दिए । आँधीखोला किनारका बजार क्षेत्रबाट निस्कने ढलहरु सिधै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएकोले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आलेले आवश्यकता औंल्याए । नदीबाट जथाभावीरुपमा ढुंगा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने माग गर्दै संस्थाले यसअघि सरोकारवालाको ध्यान केन्द्रित गराएको थियो ।
नदीको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ भन्दै संस्थाले नदी आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातिको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाएको थियो ।
आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए । नगरप्रमुख खाँणले भने, “बजारबाट खोलामा मिसिने ढललाई सिधै नभई प्रशोधन गरेर मिसाउनका लागि आवश्यक प्रक्रिया थालिएको छ, अब छिट्टै पूरा हुनेछ ।” प्रत्येक शनिबार सञ्चालन हुने नदी सरसफाइ अभियानलाई नगरपालिकाले समन्वय गरेर सहयोग गर्ने प्रमुख खाँणले प्रतिबद्धता जनाए ।
वालिङ क्षेत्रमा खोलामा फोहोर फाल्न पछिल्लो समय पूर्णरूपमा रोक लगाइएको समेत प्रमुख खाँणले जानकारी दिए । जिल्लाको उत्तरी भेग स्याङ्जा, कास्की र पर्वतको संगमस्थल अन्धाअन्धी दहदेखि पाल्पा र गुल्मीको सिमानानजिक आँधीमुहान (मिर्मी) पुग्दासम्म जिल्लाका मुख्य बजार आँधीखोला किनारमा अवस्थित छन् । कारोबार दैनिकबाट