मलावी। मलावीमा आँधीमा परेर जीवन गुमाउनेको संख्या ४ सय ३८ पुगेको छ । चक्रवात फ्रेडीमा परेर मर्नेको संख्या शुक्रबार रातिसम्म ४ सय ३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।
विभागले बिहीबार आफ्नो पाँचौँ अपडेट दिँदै आँधीका कारण ३ सय २६ जनाको मृत्यु भएको करिब ३ लाख ४५ हजार व्यक्ति वा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।
उनीहरूलाई राख्नका लागि ५०५ शिविर स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको संख्या ९ सय १८ पुगेको छ । आँधीमा २ सय ८२ जना हराइरहेका छन् ।
आयुक्तले भन्नुभयो, “विभाग, मानवीय साझेदार र परिषदले मलावी रेड क्रस सोसाइटी र समुदायको समन्वयमा खोजी र उद्धार कार्य जारी राख्दै प्रभावित र विस्थापित परिवारलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।”
मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस साताको शुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोग, सरकार, स्थानीय र अन्तर्राष्ट्रिय संस्था, कम्पनी र सद्भावना व्यक्तिले मलावीलाई सहयोग गरिरहेका छन् ।