हुम्ला। हुम्लाको सदरमुकाम सिमकोट बजारको सडक ढलान कार्य आधा भन्दा बढी सकिएको छ। दैनिक ६ मिटरका दरले ढलान भइरहेको सडकको काम ६० प्रतिशत पूरा भएको हो।
गत हिउँदमा सिमेन्टको काम गर्न नसकिने भएपछि रोकिएको काम चैत पहिलो हप्ताबाट पुन सुरु भएको थियो।
ढलान कार्य गरिरहेको बानियाँ निर्माणले सिमकोट बजारको सनभ्याली जाने सडक क्षेत्रदेखि काली चोकसम्मको ३५० मिटर सडक रिजिट पेभमेन्ट गर्ने कार्य पूरा भएको जनाएको छ।
गत मङ्सिरसम्म १५० मिटर सडक र चैत महिना यता दुई मिटर सडक ढलान गरिएको छ । हाल निर्माण कार्य धमाधम भइरहेको छ । २०७८ सालको वैशाख महिनामा काम गर्न निर्माण सेवाले सघन सहरी विकास कार्यालयसँग सम्झौता गरेर कामको थालनी गरेको थियो । यो काम २६ महिनामा सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि कम्पनीले आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष रहेको जनाएको छ।