पोखरा । नेपालका पदमार्गमा जथाभावी फालिएका फोहोर देखेर विदेशी पर्यटन नाक खुम्च्याउँदै हिँड्न बाध्य छन् । हिमशृंखलासँगै नेपाली मौलिकता अनुभव गर्न आएका विदेशी पर्यटकहरु ट्रेकिङ रुटभरि जथाभावी फालिएका फोहोर देखेर नाक खुम्च्याउँदै हिँड्न बाध्य हुने गरेका हुन् ।
नेपालीहरुमा घुम्ने संस्कार बढेपनि फोहोर व्यवस्थापनको संस्कार भने नभएको यहाँका पदमार्गहरु हेर्दा स्पष्ट थाहा हुन्छ । पोखरादेखि नजिकै पर्ने अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अस्ट्रेलियन बेस क्याम्प लगायत ठाउँमा पदयात्रा गर्नेको संख्या हृवात्तै बढेको छ तर पदयात्रीहरुले प्लास्टिक तथा सिसाजन्य फोहोरहरु व्यवस्थित तरिकाले व्यवस्थापन नगर्दा वातावरण नै दुषित भएको देखिन्छ ।
ट्रेकिङ ट्रेलभरि प्लास्टिक, बियरका बोत्तल र टुक्रिएका सिसैसिसा देखिँदा पाहुनाहरुसमेत दुःखी हुने गरेका छन् । कतिपय विदेशी पर्यटक त फोहोर देखेर फोहोर संकलन गर्न शुरु गर्ने गरेको भन्दै पर्यटन व्यवसायी त्यस्तो अवस्था देखेर आफैँलाई लाज लाग्ने बताउँछन् ।
बाटोभरि यत्रतत्र फालिएका फोहोर विदेशी पर्यटकले नभएर पदयात्रामा गएका नेपाली, युवा वर्गले बढी फाल्ने गरेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
नेपाली युवा वर्ग जसले देशको पर्यटन विकासमा टेवा पुर्याउनु पर्ने हो उनीहरुले नै यसरी फोहोर गर्दै हिँड्दा भएको पर्यटन क्षेत्रमा पनि ह्रास आउने पक्का छ । यसले देशलाई नै घाटा पुर्याइरहेको हुन्छ साथै नेपालीहरुको संस्कारप्रति विदेशीको मनमा नकारात्मक प्रभाव पर्न जान्छ । यसमा नेपाली युवा वर्ग, पदयात्री सबैले सकारात्मक ढंगले सोचेर आफ्नो फोहोर आफैँले व्यवस्थापन मात्र गर्ने हो भने पनि हाम्रा पर्यटकीय क्षेत्र सफा र सुन्दर हुनमा अझ मद्यत पुग्ने छ ।