कास्की। गण्डकी प्रदेशमा सडक व्यवस्थित गर्न प्रदेश मातहत रहेका सडकहरूको गुरुयोजना बनाइने भएको छ। प्रदेश सरकारले सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी पुर्याउने उद्देश्यले गुरुयोजना निर्माण गर्ने भएको हो।
प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर दुई महिनाभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरू सदस्य रहने मन्त्रालयले जनाएको छ।