काठमाडौं। हुम्ला सदरमुकाम सिमकोट बजार महिनौं दुर्गन्धित बनेपछि सरसफाइ अभियान थालिएको छ। शनिबारदेखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाइ अभियान सञ्चालन भएको हो।
‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम सञ्चालन गरिएको छ। सिमकोट गाउँपालिकाको कार्यालयदेखि बजारका मुख्य चोकको ढल तथा बजार सरसफाइ गर्ने कार्य गरिएको छ।
उक्त कार्यक्रम नेपाल टुरिजम, युएनडिपी, रेडियो नेपालको आयोजना र सिमकोट गाउँपालिकाको सहकार्यमा गरिएको छ। हिमाली जिल्ला हुम्ला पर्यटकीय क्षेत्रको एक मुख्य गन्तव्य रहेको र विगतदेखि जिल्लामा पर्यटनको आवागमन तीव्र रहेकाले शनिबारबाट लगभग एक महिनासम्म सिमकोट बजारमा सरसफाइ गरिने भएको छ।
हुम्लामा अधिकांश बेरोजगारी युवा युवतीलाई एक महिनासम्म रोजगार दिने गरी सरसफाइ अभियान थालिएको हो। सरसफाइ कार्यक्रममा सहभागी मजदुरले सिमकोटदेखि नाम्खा गाउँपालिकाको हिल्सा पदमार्गलगायतका सडकहरूमा सरसफाइ गर्दै जाने भएको रेडियो नेपाल हुम्लाका सुपरभाइजर रिञ्जिन लामाले बताए। उक्त कार्यक्रमबाट सफा हुनको साथै आफुहरुले रोजगार समेत पाएको भन्दै्र स्थानीयले खुसी व्यक्त गरे।