एजेन्सी। यमुना नदीको बाढीले भारतको राजधानी निकै प्रभावित बनेको छ । अर्कोतर्फ राजधानीबाट अलि टाढा रहेको गाजियाबाद–बागपत सीमामा रहेको अलिपुर बाँध बिहीबार यमुनाको तीव्र बहावका कारण भत्किएको छ ।
यस तटबन्धमा ३० देखि ३५ मिटरसम्म क्षय भएको छ, जसलाई भर्ने प्रयास भइरहेको प्रशासनिक अधिकारीले बताएका छन् । बाँध फुट्दा हजारौं बिघा बाली डुबानमा परेपछि गाउँले र प्रशासनमा हलचल मच्चिएको छ । यो बाँध भत्किएपछि दिल्लीमा यमुनाको जलस्तर अझै बढ्ने खतरा छ । यो बाँध सन् १९७२ मा निर्माण गरिएको थियो ।
बाँध भत्किएपछि नजिकैको सुभानपुर गाउँमा पानी पसेपछि हजारौं बिघा बाली डुबानमा परेको छ । यससँगै बागपत जिल्लामा पनि खतरा हुन थालेको छ । प्रशासनको टोली घटनास्थल पुगेर बाँधको मर्मत गर्ने काम गरिरहेको भएपनि मर्मतको काम भने पूरा हुन सकेको छैन ।
भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यमुना नदीको पानीको सतहले २ सय ८ दशमलव ६ मिटर नाघेको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २ सय ७ दशमलव ४९ मिटर पुगेको थियो । अहिले दिल्लीका तल्लो क्षेत्र डुबानमा परेको र पानीको सतह बढ्ने क्रम जारी रह्यो भने आवासीय क्षेत्र पनि यसको प्रभावमा पर्न सक्ने जनाएको छ। दिल्लीका सडक पानीले भरिएका छन् ।