सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ मा बेलिब्रिज निर्माण कार्यलाई तीव्रता दिइएको छ । चनौटे–भिरखर्क जोड्ने ‘ट्रस ब्रिज’ (रातो पुल) बाढीले बगाएपछि नेपाली सेनाले थालेको बेलिब्रिज निर्माण प्रक्रिया तिव्रताका साथ अघि बढाइएको हो ।
यो पुल आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
असारको बाढीले पुल बगाएपछि स्थानीयबासीको दैनिक जीवन प्रभावित भएको थियो । स्थानीयको सहजताका लागि नेपाली सेनाले गत कार्तिक ४ गतेबाट बेलिब्रिज निर्माण कार्य थालेको हो ।
निर्देशनालयका अनुसार यस पुल निर्माणका लागि हाल सर्भे कार्य सम्पन्न भइ डिजाइन र लागत तयार भइसकेको छ । पुल निर्माण गर्ने स्थानमा गाउँपालिकाको सहकार्यमा ह्युम पाइप राखेर अस्थायी ट्रयाक निर्माण गरी हाललाई आवागमन सहज गरिएको पनि निर्देशनालयले जनाएको छ ।