काठमाडौं।मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको बजेट माग गरेको छ । गत असारमा आएको बाढीले क्षतिग्रस्त भएको आयोजना पुनर्स्थापनाका लागि खानेपानी मन्त्रालयले अर्थमन्त्रालयसँग बजेट माग गरेको हो ।
आगामी हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको पानी खसाल्ने गरी बजेट मागिएको बताइएको छ । मेलम्चीले शुरुमा बनाएको कार्ययोजना अनुसार आयोजना पुनर्स्थापनाका लागि १ अर्ब ८५ करोड खर्च लाग्ने देखिएको थियो ।
अहिले नदीले आफ्नो बहाव परिवर्तन गरेकाले केही लागत घट्ने अनुमान आयोजनाको छ । पानी डाइभर्ट गरेर सुरुङमा हाल्न ३०/३२ करोड र आयोजनाको मुहानस्थलमा थुप्रिएको ढुङ्गा, गिट्टी, बालुवालाई हटाउन करिब ८० देखि ९० करोड लाग्ने अनुमान छ ।
आयोजनाको पुनर्स्थापनाको मोडलबारे अझैसम्म सरकार अनिर्णित छ । सरकारले आयोजना पुनर्स्थापनामा लागि विशेष परिस्थितिअनुसार सार्वजनिक खरिद प्रक्रिया अपनाएर सोझै ठेक्का दिने गृहकार्य गरेको छ । तर अहिलेसम्म समयमै निर्णय नहुँदा आयोजनाको पुनर्स्थापना शुरु हुनै सकेको छैन ।