काठमाडौं। जुम्लाको तिला गाउँपालिका-६ सुडीगाउँका प्रत्येक घरमा खानेपानीका धारा निर्माण भएका छन्।
अहिले प्रत्येक घरधुरीमा खानेपानी धारा जडान गरिएको तिला गाउँपालिका-६ सुडीगाउँ जुम्लाका स्थानीय गोरीकला रावलले जानकारी दिइन्। अनुकूलन कोषको आर्थिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको हो।
प्रत्यक घरमा धारा निर्माण भएसँगै स्थानीयलाई खानेपानीको कुनै समस्या भएको छैन। वर्षौंदेखि भोग्दै आएको समस्या समाधान भएको स्थानीयले बताए। कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन सम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत खानेपानी धारा जडान गरिएको हो। उक्त आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको पेस नेपाल जुम्लाले जानकारी दिएको छ।
खानेपानी आयोजना निर्माण गरेबापत प्रत्येक घरधुरीका (क) र (ख) वर्गका प्रति घरधुरीले ५७ हजार ६३२ रुपियाँ प्राप्त गरेको तिला गाउँपालिका ६ सुडीगाउँ जुम्लाका स्थानीय धनबहादुर रावतले बताए। उनका अनुसार ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथ घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन्।