काठमाडौं। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा १ करोड ६ लाखको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको उक्त आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्धघाटन गरेका छन्। जिल्ला समन्वय समितिको रु ६० लाख र गाउँपालिकाको रु ४६ लाखको संयुक्त लगानीमा निर्माणनिर्माण गरिएको यस आयोजनाबाट त्यहाँका २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जानकारी दिएको छ।
१ हजार ७०० मिटर टाढाबाट लिफ्टिङ्ग सिस्टमबाट टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन्। यसैगरी कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको उक्त क्षेत्रमा निर्माण गरिएको खानेपानी आयोजना महत्वपूर्ण भएको उनको भनाइ रहेको छ।
मकवानपुरगढी वडा नं ४ का स्थानीयवासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा उक्त खानेपानी ट्याङ्कीलगायत पूर्वाधारको निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिएका छन्। खानेपानी निर्माण भएपछि त्यस क्षेत्रको लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दाहरुले खुसी व्यक्त गरेका छन्। त्यसैगरी खानेपानी निर्माणले त्यहाँको पूर्वाधार विकासमा टेवा पुगेको छ।