काठमाडौं। सल्यान जिल्लाका अधिकांश स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ। पानीका मुहान सुक्दै जानु र अनधिकृत रूपमा सडक खन्दा खानेपानीको समस्या बढ्दै जान थालेको हो।
स्थानीयका अनुसार पानीका मुहान खोलामा र बस्ती डाँडोमा भएका कारणले गर्दा पनि जिल्लामा खानेपानीको थप समस्या बढेको हो। घरदेखि लगभग एक घण्टा लामो दुरिमा रहेको जरुवामा गई पानी ल्याउनुपर्ने बाध्यता रहेको कालिमाटी गाउँपालिका–७ बाटुलेकी पिमसरा घर्तीले जानकारी दिइन्।
उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी पनि सुक्दै जाँदा खानेपानीको समस्या भोग्दै आइरहेको स्थानीय बताउछन्। मानिसदेखि बस्तुभाउसम्मलाई पानी बोक्दा एउटालाई दिनभर ठिक्क हुन्। जसले गर्दा अरु काममा समय दिन नसक्ने स्थानीयले बताए।
सरकारले एक घर एक खानेपानी धाराको नारा लगाए पनि गाउँको बिचमा एउटा धारो नभएको स्थानीयले बताए। खानेपानीका लागि महिलाहरू रातदिन नभनी कुवा, खोला चहार्न बाध्य हुँदै आइरहेका छन्।
कालिमाटी गाउँपालिका–७ स्थित लगभग दर्जन बढी बस्तीका बासिन्दा खानेपानीबाट प्रभावित हुँदै आएका छन्। वडा कार्यालयका अनुसार खानेपानीको अभावका कारण आठ गाउँका झन्डै तीन सय घरपरिवार प्रत्यक्ष समस्यामा परेका छन्।
ग्रामीण बस्तीमा खानेपानी योजनाका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारलाई बारम्बार आग्रह गरे पनि कुनै सुनुवाइ नभएको वडाध्यक्ष नैनसिंह रानाले बताए। स्थानीय सरकारले खासै बजेट छुट्याउँदैन। सिमित मात्रामा आएको बजेटले धेरै योजना सम्पन्न गर्न नसकिने उनले जानकारी दिए।