चितवन। चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको जानकारी दिँदै उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको हो।
विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। कृषि विश्वविद्यालय रजिष्टारको कार्यालय, रामपुरले आज विज्ञप्ति जारी गर्दै सन् २०२२ र सन् २०२३ मा गएका सम्पूर्ण विद्यार्थीलाई हाललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक सहयोगका सम्बन्धमा पहल भइरहेको जनाएको छ। विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजक रहन उनीहरुलाई अनुरोध गरेको छ।
इजरायलमा भएको आतङ्ककारी हमलाप्रति विश्वविद्यालयले खेद प्रकट गरेको छ।
आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयमा दश विद्यार्थीको मृत्यु भएको छ।