पर्सा। वीरगन्जको सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई सिलबन्दी गरिने भएको छ। महानगरपालिकामा सोमबार उद्योगी, प्रशासन र प्रहरीका प्रतिनिधिबीच बसेको बैठकले प्रशोधन नगरी रसायनयुक्त लेदो तथा फोहोर नदीमा मिसाउने उद्योगलाई सिलबन्दी गरी नियमबमोजिम कारबाही अगाडि बढाउने निर्णय गरेको हो।
बैठकले वीरगन्ज महानगरभित्र सञ्चालित उद्योगहरूले प्रत्येक ६ महिनामा स्वअनुगमन मूल्यांकन प्रतिवेदन महानगरमा बुझाउनुपर्ने निर्णयसमेत गरेको छ । यसअघि सोमबार बिहानै महानगर प्रमुख सिंह नेतृत्वको टोलीले सिर्सिया नदीलाई प्रदूषित बनाउने मुख्य ६ वटा उद्योगको स्थलगत अनुगमन गरेको थियो । उद्योगका सञ्चालकलाई नदीमा प्रदूषण रोक्न निर्देशन दिइएको थियो ।
सिर्सिया नदीमा प्रदूषण नरोकिए महानगरले वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ।
बैठकमा उपस्थित उद्योगका सञ्चालकले उद्योगबाट निस्कने फोहार पानी प्रशोधन गरेर मात्र नदीमा मिसाउन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।