दोलखा। जिल्लाको विकट र दुर्गम गाउँहरुमा हालसम्म पनि खानेपानीको व्यवस्था नहुँदा समस्या पानीको झेल्दै आएका छन्। कयौं बस्तीको मानिसहरु अहिले पनि बस्ती भन्दा टाडा गएर लाइनमा बसेर एक दिन नै लगाएर पानी ल्याई आफ्नो समस्या टार्दै आएका छन्। तर पछिल्लो समयहरुमा स्थानीय सरकार र दातृ निकायहरुको पहलमा केही बस्तीहरुमा खानेपानीको निर्माण भएपछि समस्या हट्दै गएको छ।
यसैगरी जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं. ३ स्थित पाइलेमा रहेका ५५ घरपरिवारको घरघरमा पानीको धारा निर्माण भएको छ। उक्त बस्तीमा सगुन सोसियल अर्गनाइजेसन नामक सामाजिक संस्थाले धारा निर्माण गरी खानेपानी सेवा उपलब्ध गराएको हो। अघिल्लो वर्ष त्यहाँका स्थानीयहरुले पानीको समस्या झेल्नु परेको थियो। तर यो वर्ष पानीको धारा निर्माण भएपछि स्थानीय बासीन्दा खुसी भएका छन्। पानीको धारा निर्माण गर्न आवश्यक पर्ने निर्माण सामाग्री संस्थाले सहयोग गरेको गरेर ‘एक घर एक धारा कार्यक्रम’ सुरु गरेको संस्थाका अध्यक्षले जानकारी दिएका छन्।
खानेपानीको समस्या झेल्दै आएका सो क्षेत्रका स्थानीयबासीहरुको धारा निर्माण भएपश्चात करेसाबारी र घरपेटी पनि हरियो सागसब्जिले हराभरा भएको छ। पहिले टाढा पानी लिन जाँदा खर्च हुने समय बचत भएको साथै प्रयोग गरेर फालेको पानीको सदुपयोग भएको त्यहाँका स्थानीयहरुले जानकारी दिएका छन्। यसैगरी संस्थाले पाइलेको ६० घरपरिवार अझै पनि पानीको सुविधाबाट बञ्चित रहेको बताएको छ। त्यसैले सो क्षेत्रमा बैशाखसम्ममा सबैको घरघरमा पानीको धारा निर्माण गरीसक्ने संस्थाको योजना रहेको छ। उक्त संस्थाले गत वर्ष बैतेश्वर नाम्दुका २५ दलित परिवारलाई पानीको धरा निर्माण गरिदिएको साथै सोही गाउँपालिका भित्रका सुकुमबासीलाई घर निर्माण गरेर दिदैँआएको छ भने परिवारविहिन बाल बालिकालाई सहयोगसमेत गर्दै आएको छ।