काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकाले नगरभित्रका महिलालाई फोहोरको पुनः प्रयोग गर्न तालिम प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहर’ बनाउने अभियान अनुरूप महिलालाई त्यससम्बन्धी तालिम प्रदान गरेको हो।
नगरपालिकाले घर तथा टोलमा फालिएका प्लाष्टिकबाट सजावटका सामग्री बनाउन नगरभित्रका १८ जना महिलालाई तालिम दिइरहेको छ। ‘हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार’ भन्ने नारासहित नगरपालिकाले विभिन्न वडाबाट महिलाको प्रतिनिधित्व गर्नेगरी सहभागी गराएर तालिम प्रदान गरेको हो ।
नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याणले विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरेको जनाएको छ। तालिममा खेर जाने र जथाभावी फालिएका प्लाष्टिकको सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा त्यसले महिलाको आयआर्जन बढाउनुका साथै आवश्यक सामग्री खरिदका लागि हुने खर्चबाट समेत जोगाउने छ। साथै यसले गाउँका फोहोर व्यवस्थापनमा समेत मद्दत पुग्ने देखिएको छ।
तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लाष्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायतका सामग्री बनाउन सिकिरहेका छन् । त्यसरी बनाइएका सामग्री दैनिक रूपमा घरमै उपयोग गर्न सकिन्छ भने बजारमा विक्री गरेर आम्दानी गर्न सकिनेछ । तालिममा सहभागी महिलाले सीप सिकेसँगै महिलाहरूले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने समेत जनाएको छ।