झापा। झापाको बुद्धशान्ति गाउँपालिकाले जग्गा भाडामा लिएर ठोस फोहरमैलाको व्यवस्थापन गर्ने भएको छ । फोहोरलाई स्थायी तथा व्यवस्थित रुपमा व्यवस्थापन गर्नको लागि पालिकाले जग्गा भाडामा लिन लागेको हो ।
फोहर व्यवस्थापनको लागि संघीय सरकारबाट विशेष अनुदानमार्फत ९० लाख रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ।
गाउँपालिकाले हाल हप्ताको दुई दिन फोहर उठाउँदै आएको छ ।
गाउँपालिकाले संकलन गरेको फोहरलाई अस्थायी रुपमा ल्याण्ड फिल्ड बनाएर व्यवस्थान गर्दै आएको छ ।
जग्गाको व्यवस्थापन भएसँगै गाउँपालिकाले थप व्यवस्थित गर्ने जनाएको छ । जग्गा भाडामा लिनको लागि स्थानीय बासिन्दासँग सूचना जारी अनुरोध समेत गरेको छ। बिहीबारसम्म म्याद भएको सूचनामा केही आवेदन परेको पालिकाले जनाएको छ।
फोहर व्यवस्थापनको लागि गाउँपालिकाले बस्ती र विद्यालयबाट ५०० मिटर टाढा भएको, मोटरबाटो भएको, कुनै विवाद नभएको र मोही नभएको जग्गा भाडामा लिने छ।