काठमाडौं। बंगलादेशले भारतको उत्तर पूर्वी त्रिपुरा राज्यबाट १९२ मेगावाट विद्युत खरिद गर्ने भएको छ। बंगालादेशले विद्युतको आन्तरिक माग व्यवस्थापन गर्न त्रिपुरा स्टेट इलेक्ट्रिसिटी कर्पोरेश लिमिटेड (टिएसइसिएल) सँग थप विद्युत खरिद गर्ने भएको हो।
बंगालादेशले यसअघि उक्त राज्यबाट १६० मेगावाट विद्युत खरिद गर्दै आएकोमा यो परिमाणलाई २० प्रतिशत बढाएर १९२ मेगावाट पुर्याएको छ।
बंगालादेशले पहिलो पटक त्रिपुरा राज्यसँग विद्युत खरिदका लागि सन् २०१० को जनवरीमा सम्झौता भएको थियो। यो सम्झौताको अवधि पूरा भएपछि थप विद्युत खरिद गर्ने गरी बंगालादेशले पुनः सम्झौता गरेको हो।
बंगालादेशले सम्झौता भएको पहिलो वर्ष प्रतियुनिट ६.२७ भारु मा विद्युत खरिद गर्न पाउनेछ। अर्को वर्षदेखि वार्षिक २ प्रतिशत बढी मूल्य तिर्नुपर्नेछ। थप विद्युत खरिदका लागि सम्झौता भएसँगै बंगालादेशले भारतसँग अब कूल ११९२ मेगावाट विद्युत खरिद गर्नेछ।
अहिले बंगालादेशको विद्युत जडित क्षमता २१ हजार ४ सय ३५ मेगावाट छ।
उत्पादन लगभग २० हजार ९ सय ३४ मेगावाट हुँदै आएको छ। गत अप्रिल ३ मा अहिलेसम्मकै बढी १३ हजार १८ मेगावाट विद्युत खपत भएको जनाइएको छ। बंगालादेशले नेपालसँग विद्युत खरिद गर्न इच्छा देखाए पनि प्रसारण संरचनाको समस्याका कारण अहिलेसम्म पठाउन भने सकिएको छैन।