मोरङ। विराटनगर–इटहरी–धरान खण्डको छ लेन सडक निर्माण पूरा नहुँदै भत्किन थालेको छ।विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भत्किन थालेका हो।
सडक भासिएर भत्किन थालेपछि रानी सडक खण्डमा अहिले एकतर्फी मात्र सवारी आवागमन हुने गरेको छ। सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै भासिएको अनुमान छ।
छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन्। रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आएको छ ।
सडक निर्माणको चरणमा नै ठेकेदार कम्पनी आशिष निर्माण सेवाले कमसल सामग्री प्रयोग गरेको र स्थानीयले तत्काल रोकेपनि पछि फेरि कम्पनीले सोही सामग्री प्रयोग गरेर सडक निर्माण गरेपछि समय नपुग्दै भत्किने समस्या देखिएको स्थानीयको आरोप छ।
उता आशिष निर्माण कम्पनीले भने भारतबाट ठूला मालबाहक सवारी साधन औद्योगिक नगरी विराटनगर प्रवेश गर्दा सडकले भारवहन थेग्न नसकेका कारण सडक भासिन पुगेको बताउँदै आएको छ ।
विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ४९ किमि सडक छ लेनमा बिस्तार गर्ने काम जारी छ।