हुम्ला। सिमकोट गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सडक दुर्गन्धित बनेको छ। लामो समयदेखि फोहोर व्यवस्थापन नहुँदा सिमकोट बजार र आसपासका सडक दुर्गन्धित बनेका हुन्।
सिमकोट बजारको फोहोर संकलन गरेर फोहोर ट्याक्टर भाडामा लिएर बुराउसे र बरगाउँ जाने सडक छेउमै फाल्नाले सडक दुर्गन्धित बन्दै गएको हो।
बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर फाल्ने ठाउँ भए पनि सिमकोट गाउँपालिकाले सडक किनारमा जथाभाबी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको स्थानीयको आरोप छ।
सिमकोटको कुनै एक ठाउँमा मात्र नभई चार–पाँच ठाउँमा फोहोर फाल्नाले डेढ सय मिटर वरपरको क्षेत्र दुर्गन्धित भएको छ। सडकछेउमै ट्र्याक्टरमा लगिएको फोहोर फालिँदा पैदल तथा गाडीमा यात्रा गर्ने यात्रुलाई सो क्षेत्र प्रवेश गर्दा नाक थुनेर जानुपर्ने बाध्यता छ।