काठमाडौं। ह्वावे कम्पनीले आफ्नै फाइभजी चिपसेट निर्माण गर्ने भएको छ। कम्पनीको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा फाइभजी चिपसेटका लागि काम भइरहेको ह्वावे कन्जुमर बिजनेशका अध्यक्ष डेरेर यूले जानकारी दिएका हुन्।
फाइभजीमा अन्य देश तथा कम्पनीसँग भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न कम्पनीले आफ्नै फाइभजी चिपसेट विकास गर्न लागेको हो।
सन् २०२२ भित्रै फाइभजी चिपसेट तयार पारी उत्पादन नै शुरु हुने बताइएको छ। ह्वावेले यसअघि फाइभजी चिपसेटको रुपमा किरिन ९००० उत्पादन गरेको थियो।
कम्पनीले टीएसएमसीसँगको सहकार्यमा यो चिपसेट निर्माण गरेको हो। तर, अमेरिकाले फाइभजी प्रविधिमा लगाएको प्रतिबन्धका कारण टीएसएमसीसँगको ह्वावेको सम्झौता रोकिएको छ।
अमेरिकाले ह्वावेलाई देशमा मात्रै प्रतिबन्ध नभएर आफ्नो देशमा उत्पादन हुने कुनै पनि प्रविधि प्रयोगमा रोक लगाएको हो। त्यो सँगै हाल ह्वावेले फोरजी चिपसेटका लागि क्वालकमसँग सहकार्य गरिरहेको छ भने फाइभजीका लागि आफूसँग बाँकी रहेको चिपसेट प्रयोग गरिरहेको छ।