काठमाडौं । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा। एस। जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।
भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।
त्यस्तै, डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरणसहितको फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ ।
दूतावासका अनुसार, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, सरसफाइका सामग्री लगायतका राहत सामग्री पनि नेपाल आइपुगेको छ । यो भारतले नेपाल पठाएको चौथो खेप सहायता हो ।
बाढीपहिरोले सडक र पुलहरूमा क्षति पुर्याएको अवस्थामा यातायात सुचारु गर्न भारतले संरचनागत सहयोग पनि पठाएको छ।