जोमसोम। गत कार्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत एक महिनादेखि अवरुद्ध खानेपानी मुहानको हिउँ पन्छ्याउन जोमसोमस्थित बज्रदल गणको नेपाली सेनाको टोली जुटेको छ।
थासाङ गाउँपालिकाका वडाध्यक्ष नरप्रसाद हिराचनको पहलमा ब्रजदल गणको करिब ३२ जना नेपाली सेना र केही स्थानीयको सहभागीतामा मानीपाथी हिमालको फेंदमा पुगेर खानेपानी मुहान सरसफाइ सुरु गरिएको बताइएको छ।
समुन्द्री सतहदेखि ३ हजार ४० मिटर अग्लो उचाईमा अवस्थित पानीको मुहान क्षेत्र थासाङको नाउरिकोट गाउँदेखि करिब ३ किमी टाढा पर्ने उनले उल्लेख गरे। बज्रदल गणका सेना अधिकृतले निरन्तर मुहान सरसफाइ अभियानलाई तीब्रता दिएको र आजसम्ममा अवरुद्ध पानीको मुहानमा थुप्रिएको हिउँको ढिस्को पन्छ्याएर पानीको निकास खोल्ने काम संक्ने जानकारी दिए।
उनले हिउँको करिब एक सय मिटर गहिराइमा पानीको आवाज सुनिएको र हिउँ पन्छ्याउन समय लाग्न सक्ने उल्लेख गरे। मानापाथी हिमालको फेंदमा अवस्थित पानीको मुहान अवरुद्ध हुँदा नाउरिकोट गाउँमा खानेपानी,सिचाई र ३ वटा पानी घट्टको नियमित काम ठप्प भएको थियो। यस्तै खानेपानी अवरुद्ध हुँदा करिव ७० घर एक महिनादेखि प्रभावित बन्दै आईरहेका थिए।
हिउँदयामको मौसममा हिमालको हिउँ एकै ठाउँमा जमेर बस्नुपर्ने अवस्थामा सो क्षेत्रमा भिषण हिमपहिरो गएको थियो। २०४० को दशकमा पनि सो क्षेत्रमा हिमपहिरो जाँदा मानवीय क्षति हुनुको साथै थुप्रै याकचौरी पुरिएका थिए।