काठमाडौं। नेपाल टेलिकमले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (महजोडी) लाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको हो। मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाउन सफल महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन्। सो सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्ने जनाइएको छ। कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास राखिएको छ। हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।