काठ्माडौं। कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ। आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ।
धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रीस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ।
आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समय चन्दननाथ, गुठीचौर र तातोपानी गाउँपालिका गरी तीन वटा स्थानीय तहका नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसङ्ख्या लाभान्वित हुनेछन्।
चन्दननाथ नगरपालिकाले रु ५० लाख, तातोपानी गाउँपालिकाले रु ५० लाख र गुठीचौर गाउँपालिकाले रु ४६ लाख बजेट बैंक धरौटी राखेका छन्। यसैगरी तीनवटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीयस्तरमा आवश्यक अपनत्व लिएका छन्।
आयोजना लगभग चार हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिनेछ।