एजेन्सी। लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत रहन आग्रह गरिएको छ। लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत रहन आग्रह गरेको हो।
दूतावासले एक सूचना जारी गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न भनेको छ।
लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्दारका लागि आफ्ना नागरिकको विवरण सङ्कलन सुरु गरेको समेत जनाएको छ ।