काठमाडौं। भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ। अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि सो उपकरण जडान गरिएको हो।
अस्पतालका बायो मेडिकल इन्जिनीयर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उपकरणले २ हजार सिलिन्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ। उक्त उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ। यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ।
उक्त उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेले जनाएका छन्। तरल अक्सिजन ल्याएर ट्यांकीमा भरेपछि आवश्यकताअनुसार यसबाट आपूर्ति गर्न सकिने उनले जानकारी दिएका छन्। यसैगरी यूएसएडको अनुदानमा प्राप्त उपकरण स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको उनले जनाएका छन्।
तरल अक्सिजन उपकरण जडान गर्नुअघि अस्पतालमा ग्यास अक्सिजन प्लान्ट रहेको छ। प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको जनाइएको छ। तरल अक्सिजन उपकरण जडान गरेसँगै अक्सिजनको माग उच्च रहेको समयमा सहज हुने प्रा.डा. पौडेलले जनाएका छन्। यसैगरी सो अस्पतालमा हाल अर्को अक्सिजन प्लान्टका लागि भवन निर्माणको कार्य भइरहेको छ। उक्त प्लान्ट एनआरएनएको सहयोगमा जडान गरिँदैछ। यसका लागि चीनबाट उपकरण खरिदको प्रक्रिया शुरू भइसकेको उनले जानकारी दिएका छन्।