काठमाडौँ । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः अघि बढ्ने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार आयोजना अघि बढाउन देखिएका प्राविधिक समस्या समाधानको प्रक्रिया सुरु गरिएको छ।
२०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको मुख्य समस्या मूल डीपीआर तथा डिजाइनमा देखिएको थियो। समस्याबारे प्रतिवेदन तयार भए पनि लामो समयसम्म प्राविधिक समाधान हुन नसक्दा आयोजना अलपत्र परेको थियो।
पूर्वाधार विकास मन्त्रालयको पहलमा २०८३ असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाबीच संयुक्त बैठक बसेर समस्या समाधानको प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
मन्त्रालयले मूल डीपीआर तयार गर्ने परामर्शदातालाई डिजाइन तथा प्राविधिक समस्या पुनरावलोकन गरी समाधान प्रस्ताव गर्न सहजीकरण गरेको जनाएको छ। आयोजनाको मुख्य बाँकी काम स्टिल ट्रस जडान रहेको छ। प्राविधिक समस्या समाधान गर्दै २०८३ को अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।