म्याग्दी । गत साताको बाढीपहिरोले अवरुद्ध चीन–भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मतमा इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि मालढुंगादेखि घाँसासम्म करिब ५० किलोमिटर सडकको ४६ भन्दा बढी स्थानमा अवरोध भएको थियो।
मर्मतपछि भुरुङ्ग तातोपानीदेखि मुस्ताङतर्फ र मालढुंगादेखि राहुघाटसम्म एकतर्फी यातायात सञ्चालनमा आएको छ। तर रघुगङ्गा–३ तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको ‘ग्यान टिटावर’ हटाउन ढिलाइ हुनु र मौज्दात डिजेल सकिनुले मर्मत प्रभावित भएको सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताए।
तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउन तथा सडक निर्माणमा प्रयोग हुने डोजर, लोडर र टिप्पर सञ्चालनका लागि डिजेल अभाव भएको उनको भनाइ छ। वैकल्पिक मार्गबाट इन्धन ढुवानी तथा सडक मर्मतको काम भइरहेको छ। सडक विभागको टोलीले स्थलगत निरीक्षण गरी स्रोतसाधनको अभाव हुन नदिने जनाएको छ।