कैलाली। गोदावरी नगरपालिकाको ओलानी–चौकीडाँडा सम्मको बान्द्रखोला सडकको निर्माण कार्य सम्झौता भएको १४ महिनापछि शुरु भएको छ। आगामी माघ महिनासम्ममा सक्नु पर्ने सडक निर्माणको काम यहि मंसिर अन्तिम साताबाट मात्र शुरु भएको हो।
प्रदेश सरकार भौतिक मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाइट जेभीबीच सडक निर्माणका लागि १८ भदौ २०७७ मा भएको सम्झौता अनुसार १७ माघ २०७८ भित्र सडक निर्माण गरिसक्नु पर्नेछ। तर ठेकेदार कम्पनीले सम्झौता गरेर निर्माणको कार्य भने अघि नबढाएको हो।
सरकारी निकायलाई पटक पटक जानकारी गराउँदा पनि ठेकेदार कम्पनीलाई समयमै काममा नलगाएका कारण निर्माण कार्य ढिलो शुरु भएको जनप्रतिनिधिहरुको भनाइ छ।
समयमै काम सुरु नहुनुमा ठेकदारसँगै प्रदेश सरकार पनि दोषी भएको बताइएको छ। सडकको ठेक्का सम्झौता भएर काम सुरू नभएपछि ठेकेदारलाई ताकेता गर्न भन्दै आफूहरुले पटक पटक पूर्वाधार विकास कार्यालयलाई पत्र पठाए पनि सरकारी कार्यालयले बेवास्ता गरेको र ठेकेदार सम्पर्कमा नै नआएको एक वडा सदस्यले बताए।